काभ्रे। ६ सय ८३ मेघावाटकाे ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त विद्युत आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ ।
मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।
अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । आयोजनाको विसं २०७४ देखि अध्ययन सुरु गरिएको थियो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठवटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो आयोजना निर्माण गर्न गत भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा जलविद्युत् आयोजना प्रवर्द्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमतिसमेत भएको छ ।
विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।