सुर्खेत । सडक निर्माण तथा विस्तारमा लापरबाही गरेको भन्दै वीरेन्द्रनगर नगरपालिकाका स्थानीयले आन्दोलन शुरु गरेका छन् । वीरेन्द्रनगर–९ स्थित मंगलगढी चोकदेखि लाटिकोइली जाने सडकखण्ड निर्माण र विस्तारमा लापरबाही भएको भन्दै स्थानीयले मंगलगढी युथ क्लबको नेतृत्वमा आन्दोलन थालेका हुन् ।
बुधबार लाटीकोइलीका झन्डै ५ सय स्थानीयले विरोध र्यालीसहित बजार प्ररिक्रमा गरेर भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा धर्ना दिए । सडक स्तरोन्नति र विस्तारको ठेक्का आर्थिक वर्ष २०७५/७६ मा भए पनि अझै अलपत्र भएको मंगलगढी युथ क्लबका एक सदस्यको भनाइ छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीयको भनाइ छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मंगलगढी चोकदेखि लाटीकोइलीसम्मको सडक स्तरोन्नतिको काम १८ करोड रुपैयाँमा डीपीआर भएको थियो ।
भौतिक पूर्वाधार तथा सहरी विकास निर्देशनालयले ठेकेदार कम्पनी नेपाल मेघा बिल्डर प्रालिले साढे ११ करोड रुपैयाँ कवोल गरेको टेन्डर स्वीकृत गरेको छ । तर केही प्रक्रिया नमिलेको भन्दै ठेक्का सम्झौता भएको छैन ।
हामीले सडक नबन्दा यहाँका स्थानीयले वर्षौँदेखि धुलो र हिलोको सास्ती खेप्नु परेको छ ।