काठमाडौं। उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा सवारी साधन पुर्याउन स्थानीयले फेरि पनि अस्थायी मोटरेबल पुल निर्माणको तयारी गरेका छन् । मस्र्याङ्दी नदीमा बनाउन लागिएको अस्थायी मोटरेबल पुलका लागि स्थानीयले चन्दा संकलन सुरु गरेका हुन् ।
अहिलेसम्म नियमित सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैले गत वर्षझैं काठको अस्थायी मोटरेबल पुल निर्माण गर्न लागेका हुन् । स्थानीयले रकम संकलन गरी केही महिनाका लागि अस्थायी मोटरेबल पुल निर्माण कार्य सुरु गरेका हुन् । अस्थायी मोटरेबल पुल निर्माणका लागि पर्याप्त रकम नभएकाले आर्थिक संकलन अभियानमा जुटेको मस्र्याङ्दी५, घेर्मुका वडाध्यक्ष घनश्याम घलेले जानकारी दिए ।
दुई वर्षअघि स्थानीयले रकम संकलन गरी अस्थायी मोटरेबल पुल निर्माण गरी घेर्मुमा पहिलो पटक मोटर पुर्याएका थिए । पहिलो वर्ष बाँकी रहेको रकमबाट स्थानीयले गत वर्ष पनि पुल निर्माण गरी हिउँदको समयमा यातायात सुचारु गरेका थिए । पहिलो वर्ष संकलन भएको रकमले दुई वर्षसम्म अस्थायी मोटरेबल पुल निर्माण भए पनि यसवर्ष पुलमा प्रयोग गरिएका सामग्री सबै नयाँ बनाउनु पर्ने र रकम पनि बाँकी नहुँदा आर्थिक संकलन अभियानमा लागिएको वडाध्यक्ष घलेको भनाइ छ ।
अस्थायी मोटरेबल पुल निर्माणका लागि सम्बन्धित वडाले दुई लाख रुपैयाँ विनियोजन गरेको छ भने बाँकी रकम स्थानीयबाट संकलन सुरु भएको वडाध्यक्ष घलेले बताए । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साविक घेर्मु दशकौं अघिदेखि बाह्य पर्यटकको आगमन हुने क्षेत्र भए पनि हालसम्म तत्कालीन सिँगो गाविसमा सडक सञ्जाल नजोडिँदा मोटर पुग्न सकेको थिएन ।
मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घर्मु जोड्ने मस्र्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटर पुल निर्माण गर्दै आएका छन् । स्थानीयले रकम संकलन गरी स्थानीय मेगबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी प्रत्येक वर्ष पुल निर्माण गर्दै आएका छन् ।
स्थानीयले पहिलो वर्ष करिब तीन लाख रुपैयाँ खर्च गरेर पुल निर्माण गरेका थिए । अस्थायी पुल निमार्णका लागि स्थानीयबाट चन्दा संकलन, देशविदेशमा रहेका व्यक्तिबाट सहयोग संकलन भएको थियो । स्थानीयले निर्माण गरेको काठको अस्थायी मोटरेबल पुल मस्र्याङ्दी नदीको बहाब नबढेसम्मका लागि प्रयोग गर्ने गरेका छन् ।
प्रायः जेठसम्म नदीको बहाब कम हुने भएकाले कम्तीमा पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । नदीमा स्थायीरूपमा पक्कि पुल नबनेसम्म स्थानीयले अस्थायी पुल निर्माणलाई निरन्तरता दिने जनाएका छन् । अस्थायी पुल निर्माण भएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानिगाउँका स्थानीयसमेत लाभान्वित हुनेछन् । हिउँदमा मात्रै भए पनि स्थानीयलाई यातायात तथा ढुवानीमा सहज हुने गरेको छ। कारोबार दैनिकबाट