भैरहवा। तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गरेका हुन्।
तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारेको उनले बताए। यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे। तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उनले बताए। तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताउए। एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उनले बताए। लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँबाट डिपिआर तयार गरिएको उनले जानकारी दिए।
रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलो भएको बताए। कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा सञ्चालन हुनेछ । स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए। प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए। चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उहाँले बताए।
यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले बताए। रेल सेवामा दैनिक ३० हजार, आठ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उनले दाबी गरे।
परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउनेछन् । ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए। एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उनले बताए । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उनले बताए । कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्वे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताए। गोरखापत्रबाट