काठमाडौं। हाम्रै घर वरपर खेर गएका वा फालिएका जैविक फोहोरबाट जीवन उपयोगी विभिन्न स्रोत वस्तु पत्ता लगाउने उद्देश्यले २ वर्षे अनुसन्धान प्रारम्भ भएको छ । काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङमार्फत कार्यन्वयन हुने यो अनुसन्धान परियोजना शुरुमा प्रयोगशाला तहमा कार्यान्वयन हुनेछ ।
त्यसबाट आएको अनुसन्धान निष्कर्षलाई समुदाय तहमा विस्तार गरी स्थलगत नमूना (पाइलटिङ) परिक्षण गरिनेछ । काठमाडौं विश्वविद्यालयको इन्भारोमेण्टल इञ्जिनियरिङका सहायक प्राध्यापक डा.अनिश घिमिरेका अनुसार कृषिजन्य र ठूलो संघसंस्थाबाट निस्कने वा खेर जाने वस्तु र खानेकुरा लगायतका फोहोरलाई अनुसन्धानमा परिक्षण गरिनेछ ।
‘प्रयोगशालामा यस्ता फोहोरमार्फत बायो हाइड्रोजन, मिथेन, एसिटिक एसिड, ल्याटिक एसिड, बायो प्लास्टिकलागायतका विभिन्न उपयोगी वस्तु उत्पादन गरिनेछ’ उनले भने । संसारभरी नै यसरी उत्पादन हुने वस्तुको बजार मूल्य पनि उच्च रहेको डा. घिमिरेले जानकारी दिए ।
विश्वविद्यालयले विभिन्न तीन वटा वैज्ञानिक विधीको प्रयोग गरेर यो अनुसन्धान गर्नेछ । ति विधीहरुमा डार्क फर्मेन्टेशन, फोटो फर्मेन्टेशन र एनर्नोबिक डाइजेशन रहेका छन् ।
काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङलाई यो परियोजना इनर्जाइज नेपालले उपलब्ध गराएको हो । इनर्जाइज नेपाल नर्वेको नेपालस्थित जलविद्युत तथा नविकरणीय ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धानको लागि लगानी गर्न स्थापित संस्था हो ।
अनुसन्धानमा आधारित यो परियोजना २०२४ जुलाइसम्म सञ्चालन हुनेछ । यसको कुल लागत ६७ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसमा नर्वेजियन सरकारको ६९ र काठमाडौं विश्वविद्यालयको ३१ प्रतिशत लगानी रहेको छ ।