नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा लगाइएको ताला खुलाइएको छ। उद्योगले पाँच दिनभित्र वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भएपछि उद्योगमा लागेको ताला खुलाइएको हो।
पुषको दोस्रो हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थानीयसँग गरेको सहमतिविपरीत उद्योगमा इन्धनको रूपमा धानको भुस प्रयोग गरी वायु प्रदुषण गरेको विषयलाई लिएर उद्योगको गेटमा तालाबन्दी गरेका थिए । सुनवलको बजार क्षेत्रमा व्यापक रूपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रका नालाहरू सरसफाइ गर्नुपर्ने लगायतका विषयहरूको कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले मंगलवार उद्योगको मूल गेटमा तालाबन्दी गरेका थिए ।
उद्योग सञ्चालक, स्थानीयवासी, सुनवल नगरपालिकाका जन निर्वाचित प्रतिनिधिहरू लगायतको संयुक्त छलफलबाट उद्योगलाई उपकरणहरू मर्मत गरी प्रदूषण नियन्त्रणका लागि ५ दिनको समय दिने सहमति भएपछि उद्योग पुनः सञ्चालनमा आएको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले जानकारी दिइन् ।
प्रदूषण नियन्त्रण गर्न भन्दै स्थानीयवासीले गत मङ्गलवार ताला लगाएको अवस्थामा बुधवार राति उद्योग र केही स्थानीय मानिसको समूहले रातिको समयमा गेटमा लगाइएको ताला खोलेपछि उद्योग सञ्चालकसँग केहीबेर स्थानीयवासी आक्रोशित बनेका थिए ।
इन्धनको रूपमा धानको भुस बालेपछि उद्योगको चिम्नीबाट जलेको भुसका टुक्रासहित कालो खरानी सुनवल क्षेत्रका बजारमा व्यापक रूपमा उडेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।