दोलखा। स्थानीय तहका ७४ वटा वडाको केन्द्रबिन्दु तथा दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा एउटा पनि सार्वजनिक शौचालय छैन । यहाँका नौवटा पालिकाको ७४ वटा वडा आवतजावत गर्ने मुख्य सहरमा हालसम्म पनि शौचालय नहुँदा सबैभन्दा यात्रुलाई बढी मार परेको छ ।
शौचालय नहुँदा सदरमुकाम चरीकोट आवतजावत गर्ने यात्रु तथा पैदलयात्रु खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य हुनुपरेको छ भने महिलालाई अझ सकस बनेको स्थानीय ऋषि न्यौपानेले बताउँछन्।
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भन्ने उखानझैँ दोलखालाई खुला दिसामुक्त घोषणा गरेको तीन वर्ष बित्यो तर घोषणा भने कागजमा मात्र सीमित रहेको छ । शौचालय जान परेर गाह्रो हुँदा पनि होटल तथा पसलमा आग्रह गरे पनि कसैले पनि शौचालय प्रयोग गर्न नदिने गरेको यात्रुहरूको दुखेसो रहेको छ ।
दिसापिसाब आइहाले होटलमा केही खान वा पसलमा केही किन्नुपर्ने बाध्यता रहेको सदरमुकाम आएका यात्रु धनबहादुर केसीले बताए।
दुई वर्षअघि सशुल्क सार्वजनिक शौचालय प्रयोग गरिरहेका स्थानमा भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यावसायिक भवनमा सार्वजनिक शौचालय निर्माण भएकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको दाबी रहेको छ । सदरमुकाम चरीकोट भएर यहाँका सात गाउँपालिका र एक नगरपालिकामा यात्रुवाहक बसहरू छुट्ने गरेका छन् । सदरमुकाम भएकाले आउने जानेको पनि भीड हुने गरेको छ ।गोरखापत्रबाट