धनुषा । जनकपुरधामका करिब डेढ सय पोखरी लोप हुने अवस्थामा छन् । यहाँ विगतमा २ सय ८ पोखरी भएकोमा डेढ सय पोखरी अस्तित्वबिहीन अवस्थामा पुगेका हुन् ।
छठ पर्वकै लागि भनेर जनकपुरधामका थुप्रै पोखरी शृंगारिएका अवस्थामा पनि कयौं ऐतिहासिक एवं पौराणिक पोखरी भने गुमनाम छन्। जनकपुरका तेलहा, मडहा, पापमोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, पगपखचालन पोखरीलगायतका धार्मिक एवं पौराणिक पोखरीलाई छठको रौनकले छुन सकेको छैन ।
ऐतिहासिक एवम् धार्मिक पोखरी भएका ठाउँमा कतैकतै त सरकारी कार्यालय बनेका छन् भने केही स्थानमा निजी प्रयोजनका आवासीय घर बनेका छन् । यसरी पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।