हुम्ला। सिमकोटमा फोहोरमैला व्यवस्थापनका लागि नयाँ डम्पिङ साइट निर्माण गर्न सुरु गरिएको छ। फोहोरमैलाको स्थायी समस्या समाधान गर्नका लागि सिमकोट गाउँपालिका–६ चिसामुल क्षेत्रमा डम्पिङ साइट निर्माण गर्न थालिएको हो।
डम्पिङ साइट नभएका कारण सिमकोट बजारको फोहोर जथाभावी फाल्नुु परिरहेका बेला स्थान छनोट गरेर निर्माण सुुरु गरिएको छ।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोटको चिसामुल क्षेत्रलाई डम्पिङ साइट छनोट गरेका हुन्। डम्पिङ साइट निर्माणका लागि गाउँपालिकाले टेण्डर आह्वान गरी निर्माण कम्पनी समेत छनोट भइसकेको छ। फोहोर व्यवस्थापनका लागि निकै चुनौती भइरहेका बेला ६ जना व्यक्तिको निजी जग्गालाई ६ वर्षका लागि भाडामा लिएर डम्पिङ साइट निर्माण कार्य अगाडि बढाइएको हो।
हाल गाउँपालिकाले बजार क्षेत्रको फोहोर हप्तामा दुुई दिन उठाएर चिसामुल क्षेत्रकै सडक छेउमा फाल्दै आएको छ। यसको स्थानीयबाट विरोध भइरहेको थियो। उक्त क्षेत्र ठूलो र फराकिलो भएको कारण फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समस्या समाधान हुने विश्वास गाउँपालिकाले गरेको छ।