काठमाडौं। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुलको निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन। रुरु क्षेत्रको रिडीमा तीन जिल्ला जोड्ने पुल निर्माण कार्यले पर्यटक आकर्षण गर्ने सरकारको योजना थियो।
पाल्पाको तानसेन नगरपालिका–१४, गुल्मीको रुरु गाउँपालिका–१ र स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ जोड्ने झोलुङ्गे पुल निर्माण भए उक्त क्षेत्रको आवतजावत सहज हुने थियो। नयाँ बाटो रुविनामना जेबी निर्माण कम्पनीले विसं २०७१ मा पुल निर्माणसम्बन्धी सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७४ असार ९ गते नै पुल निर्माणको काम पूरा हुनुपर्ने हो।
कम्पनीले नौ करोड भन्दा माथीको लगानीमा काम सुरु गरेको थियो। पुल निर्माण थालिएको सात वर्षको अवधिमा पाल्पातर्फको लठ्ठा र हिँड्ने पाता जोड्ने काम लगभग सम्पन्न हुन लागेको छ। कालीगण्डकी नदीमा आएको बाढीले पुल निर्माणका केही सामग्री बगाएको र लठ्ठा बटारिएको हुँदा निर्माणमा केही ढिलाइ भएको निर्माणकर्ता करन वर्माले बताए।
वर्माले सहायक निर्माण व्यवसायीका रुपमा काम अगाडि बढाएको छन्। समयमा पैसा पाउन नसक्दा काम ढिला भएको गुनासो उनले गरे। नेपालीको चाडपर्व सकिएकाले अब छिटो काम सुरु हुने र अबको तीन।चार महिनामा पुलको सबै काम पूरा हुने वर्माको भनाइ छ।
निर्माण पूरा भएपछि धार्मिक पर्यटकको चहलपहल हुने यस क्षेत्रका बासिन्दा उत्साहित थिए। समयमा पुल निर्माण नहुँदा स्थानीय निरास बनेका छन्। धार्मिक पर्यटक आकर्षण गर्ने भनेर पुल निर्माणको काम थालिए पनि ढिलासुस्तीका कारण रुरु क्षेत्रको रिडी नराम्रो बनेको सथानीयको गुनासो छ। तानसेन नगरपालिका–१४ का स्थानीय कमल सारुले पुल निर्माण सामग्री जथाभावी फालिएकाले धार्मिक क्षेत्रको सौन्दर्यता गुमेको बताए। काम ढिलासुस्ती हुने आर्थिक कारण प्रमुख रहेको निर्माण पक्षले दाबी गरी काम रोकिएको थियो।