बेनी। १९ करोड लागतमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा ८० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ। अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा सहज रुपमा सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तरर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्कि मोटरेबल पुल निर्माण गरेको हो।

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि वि.स. २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले १९ करोड रुपैयाँमा ठेक्का सम्भौता गरेको थियो। ८० मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडा अध्यक्षले जानकारी दिएका छन्। दुई वर्षको ठेक्का अवधी भएपनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष ढकेलिएको हो। कोरोना महामारी र वाढी पहिरो जस्ता प्राकृतिक विपद्का बावजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले जानकारी गराएका छन्।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा नम्बर–२ को सिमानास्थित कालीगण्डकी नदीमा पनी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ७० मिटर लामो पोखरेबगरको पुलको रंगरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी रहेको छ। वि.स. २०६४ मा ट्रयाक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा अहिले फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन्।
त्यस्तै बेनी–जोमसोम सडकअन्तरर्गत नै बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाईको मोटरेबल पुल निर्माणको तयारी भइरहेको छ। ८ करोड ४७ लाख भन्दा बढी लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखले जानकारी गराएका छन्। सो पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा जानकारी गराइएको थियो। हाल भारत र चीन जोड्ने सबैभन्दा छोटो ४३५ किलोमिटर दुरीको कालीगण्डकी कोरीडोरअन्तरर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भैरहेको छ।
६ अर्ब रुपैयाँको लागतमा बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरला सम्मको ११० किलोमिटर सडक स्तरोन्नती गर्न सात वटा खण्डमा काम भैरहेकोमा ६ वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुखले जानकारी गराएका छन्। त्यस्तै सो सडक स्तरोन्नती र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत, पर्यटन र ब्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्यले बताएका हुन्।