बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निलगिरि खोला पहिलो जलविद्युत आयोजनाको बाँध निर्माण स्थल सडक सञ्जालमा जोडिएको छ। निलगिरि खोला हाइड्रोपावर प्रा.लि प्रर्वद्धक रहेको ३८ मेगावाट क्षमताको आयोजनाको बाँध निर्माण हुन लागेको हुमखोलामा सडक पुगेको हो। यस कम्पनीले उक्त ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ।
निलगिरि क्यासकेडको विद्युतगृह निर्माण स्थल दोभानदेखि छोटेपा हुदै हुमखोला जोड्ने १३ किलोमिटर सडकको पहुँचमार्ग निर्माण सकिएको आयोजनाका इञ्जिनियरले जानकारी दिएका छन्। पहुँचमार्गले जोडिएपछि बाँध निर्माणको काम पनि अघि बढेको छ साथै यो भन्दा अगाडी दुई वटा अडिटको चार ठाउँबाट खनिरहेको सुरुङ हाल बाँधतर्फबाट पनि खन्न थालिएको छ।
अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरि अक्करे पहाड फुटाएर सडक निर्माण भएको छ। समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको २ हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ। निलगिरि क्यासकेडको बाँध र पहिलोको विद्युतगृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाएको छ। हुमखोलासम्म सडक पुगेपछि नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने बाटो छोटिएको छ। सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।
अन्नपूर्ण हिमालको आधार शिविर छोटो दुरिको पैदलयात्रामा पुग्न सकिने सम्भवत नेपालको पहिलो आधार शिविर हो। सो क्षेत्रमा पहुँचमार्गको साथै बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम पनि धमाधम भइरहेको छ। हालसम्म १० प्रतिशत प्रगति भएको निलगिरि क्यासकेडको ४ हजार २ सय मिटरमध्ये ४ वटा अडितबाट २ हजार २ सय मिटर सुरुङ खनिएको निलगिरि हाइड्रोपावरका साइट कार्यालयका प्रमुखले बताएका छन्।
त्यस्तै निलगिरि क्यासकेडको दोभिल्नामा विद्युतगृह निर्माण सुरु भएको छ। रानीबासमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ। निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ। छोटेपा–दोबिल्ना हुँदै दाना सब स्टेशन जोड्ने ७/४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणको तयारी भइरहेको छ।