काठमाडौं। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउन नहुने बताएका छन्।
बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन्।
उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए। उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारको लागि त्यति मात्रैले नपुग्ने बताए। अर्थमन्त्री पौडेलले भने, ‘‘हामी नयाँ समस्याका चाङको सामुन्नेमा छौँ। बजेटको आकारका सन्दर्भमा हामीले जस्तो अभ्यास गर्दै आएका छौँ, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन। अब परिस्थितिले हामीलाई के भनेको छ भने बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ। गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन। हामी रियालिस्टिक बजेट ल्याउने छौँ।’’
मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको समेत बताए। उनले खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे।