महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहे पनि अहिलेसम्म कामले गति लिन सकेको छैन। कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै वेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा हाल मुश्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ।
२०७३ फागुनमा एक अर्ब २० करोड लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी रहेको छ। पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार ६०० मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको जानकारी गराइएको छ।
त्यस्तै ३० महिनामा काम सक्नेगरी तीनओटा निर्माण कम्पनीले निर्माण थाले पनि दुईपटक कोरोना भाइरस संक्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयरले बताएका छन्। त्यहाँको पुनर्वास र बेलौरीदेखि बेलडाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ रहेको छ। सो सडक निर्माणमा गति दिन पटक/पटक स्थानीयवासीले पनि दबाब दिँदै आएको जनाएका छन्।
त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ। लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीनवटा प्याकेजमा विभाजन गरिएकोमा पहिलो प्याकेज बाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ। पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ।
सो खण्डको दोस्रो र तेस्रो प्याकेजमा २० प्रतिशत भौतिक प्रगति भएको छ। त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढाइएको छ। ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निर्माणको जिम्मा २०७३ फागुनमै दिएको भए पनि सो सडक निर्माणमा ढिलाइ भइरहेको छ। सो खण्डमा करीब दुई किलोमिटर सडक रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि हाल सुचारु भइसकेको छ। त्यस्तै मोहना पुलदेखि क्याम्पस रोडसम्मको साढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ।