काठमाडौं। सरकारले आगामी एक वर्षभित्र कर्णालीको हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दाबी गरेको छ। तर सरकारले दाबी गरेअनुसारको कामले गति लिन भने सकेको छैन।
हुम्लालाई सडक सञ्जालमा जोड्न सरकारले २०७१ सालदेखि कर्णाली करिडोर निर्माण शुरु गरेको हो। तर काममा ढिला हुँदा हुम्ला सदरमुकाम सिमकोटमा हालसम्म सडक पुगेको छैन। २०७० साल यताका सबैजसो सरकारले एक वर्षभित्र हुम्लामा गाडी पुर्याउने घोषणा गरे पनि खासै काम हुन सकेको छैन।
हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर बिसुनदास लामाका अनुसार अब १० किलोमिटर सडक बन्यो भने हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने छ। १० किलोमिटमध्ये ७ किलोमिटरमा चट्टान फुटाउन सरकारले एक महिनाअघि नै नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिसकेको छ भने बाँकी ३ किलोमिटरमा भने ठेकेदारमार्फत् काम हुने लामाको भनाइ छ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि सिमकोटसम्मको १ सय ७३ किलोमिटरमध्ये १ सय ६३ किलोमिटरको ट्रयाक खुलिसकेको छ। अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब भन्दा माथी खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ। सरकारले भारतको रुपैडियादेखि चीनको हिल्सासम्म सडक सञ्जालले जोड्न कर्णाली करिडोरको अवधारणा अघि सारेको हो।