इलाम। इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा रहेको पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा ल्याइएको छ। हालसम्म एक संस्थाको मातहतमा रहेको मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने भएको हो।
गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँ सभाबाट माघ ११ गते पारित गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी सो मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिका कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार दिलीप राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दा दाता, शिक्षक र प्रत्येक वडाबाट १ जनागरी १९ सदस्यीय समिति समेत निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको छ।