मोरङ। उर्लाबारी नगरपालिका–९ स्थित सन्थाल बस्ती निर्माण अलपत्र परेको छ । २०७७ फागुन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बस्ती निर्माण अलपत्र परेको हो ।
उर्लाबारी–९ रातेहोली खोला किनारमा साँढे चार विघामा १३२ परिवारका लागि सन्थाल बस्ती निर्माण गर्न लागिएको थियो । स्थानीयले उक्त स्थानबाट आफूहरु हट्न नमानेपछि ठेक्का लागेको लामो समयसम्म पनि निर्माण कार्य सुरु हुनै सकेको छैन। हाल सात वटा परिवारले उक्त जग्गा भोगचलन गर्दै आएका छन्।
नदी उकास जग्गाको छेउमा जग्गा भोग चलान गर्नेहरुको नम्बरी जग्गा रहेको छ । नम्बरी जग्गा भएर पनि नदी उकासको जग्गा कब्जा गर्नेहरुलाई जग्गा खाली गर्न नदिन राजनीतिक संरक्षण रहेको बताइएको छ ।
सन्थाल एकीकृत बस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उर्लाबारी नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराँव जातिका लागि घर निर्माण गर्न लागिएको हो ।
यस्तै २७ परिवारसँग घर बनाउने पैसा नभएका कारण उनीहरुका लागि सरकारले सन्थाल बस्ती निर्माणको योजना ल्याएको हो ।
सन्थाल बस्तीको निर्माण डेढ वर्षमा सकिने लक्ष्य राखिएको छ । बस्ती निर्माण गर्न २०७८ साल असार २४ सगुन क्षितिज अग्रिम जेभीसँग सम्झौता भएको थियो।