सुनसरी। इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने घरहरु भत्काउन सुरु गरेको छ। व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरु भत्काइएको हो।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नं.६ का घरहरु भत्काइएको हो । यसअघि
वडा नंं. ९ का सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु भत्काएको थियो । वडा नं. ६ मा पर्ने ३४ घर भत्काउन शनिबार सम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरि घर भत्काएको हो ।
मेयर पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाईमा भत्काइएको हो । उनले अटेर गर्नेहरुको कारण समग्र इटहरीको विकास २० वर्ष पछि भकेलिन सक्ने भन्दै आफैंले भत्काउन सुरु गरेको बताए।
६ लेन सडक अन्तरगतको बाटोमा पर्ने सबै घर भत्काएरै छाड्ने उनको भनाई छ। घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए ।