काठमाडौं। वाग्मती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन्।
प्रदेश सरकारले आफ्नो लगानीमा सुरुङ मार्ग बनाउन नसक्ने र केन्द्र सरकारले बजेट विनियोजन नगरेको कारण चालु आर्थिक वर्षमा सुरुङ निर्माण प्रक्रिया स्थगित गर्नुपरेको जनाएको छ। प्रदेशले बनाउन सक्ने अवस्था नभएको र केन्द्र सरकारले चासो नगरेपछि निर्माण स्थगित गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री कृष्ण शर्मा खनालले बताए।
प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालय मातहत रहने गरी ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना कार्यालय’ नै स्थापना गरिसकेको छ। कार्यालयले आयोजनाको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिसकेको र टेन्डर प्रक्रिया सुरु गर्न मात्र बाँकी रहेको जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहका अनुसार अहिलेकै अवस्थामा सुरुङ मार्गको लागत लगभग २० अर्ब रुपैयाँ छ। संघसँग आधा बजेट मागेका थियौं, सुनुवाइ नै भएन । स्रोत सुनिश्चित नभएकाले रोक्न निर्देशन आएको छ।
डीपीआरअनुसार ११ मिटर चौडाइको ३२ सय २० मिटर र ३२ सय ७० मिटर लम्बाइको दुईवटा सुरुङमार्ग बनाउन लगभग १९ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरीएको छ। एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने गरी दुईवटा सुरुङ निर्माण ४२ महिनामा सम्पन्न हुने डीपीआरमा उल्लेख छ।
कार्यालयका इन्जिनियर पुण्यराम सोलुका अनुसार डीपीआर निर्माण र प्रशासनिक गरी करिब दुई करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ। इटेको नेपाल प्रालिलगायत सातवटा परामर्शदाताले फरकफरक विषयमा सुरुङ मार्गको प्राविधिक विषयको अध्ययन गरेका थिए। यो परियोजनाको सबै तयारी पूरा भइसकेको छ। हामी टेन्डर गर्न सक्ने अवस्थामा छौं, भौगोलिक रूपमा सुरुङमार्ग निर्माणमा कुनै कठिनाइ नहुने समेत उनले बताए।