पाल्पा। लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा रामपुर–रोल्पा सडकलाई ‘प्रदेश गौरव’ को आयोजनामा राखेर काम अघि बढाएको थियो । आर्थिक वर्ष २०७५/७६ देखि गौरवको आयोजना घोषणा भए पनि पाल्पामा पर्ने १ सय १२ किलोमिटर सडक खण्ड भने चार वर्षयता अलपत्र अवस्थामा छ, हालसम्म मर्मतसम्भार हुन सकेको छैन। यो भन्दा अगाडी भने कतिपय खण्डमा सडक डिभिजनले स्तरोन्नति र मर्मत अघि बढाएको थियो।

हाल सो क्षेत्रमा प्रदेश सरकार र सडक डिभिजन दुवैले काम गरेका छैनन्। आर्यभन्ज्याङ–रामपुर र हार्थोक–छहरा सडक खण्डमा खाल्डाखुल्डी अत्यधिक मात्रामा छ। यसअघि गरेको ओटासिल कालोपत्र धेरै स्थानमा उप्किएको छ। सडकमा वर्षायाममा खसेका पहिरो सडक डिभिजनले पन्छाए पनि त्यसपछि कसैको ध्यान जाने गरेको छैन। ‘आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकमा हिँड्नै नसकिने गरी खाल्डाखुल्डी भएका कारण कालीगण्डकी करिडोरको एक किलोमिटर अलि दुःख भएपनि त्यतैबाट हिँडिरहेको ट्रक चालकहरुको भनाई रहेको छ। जतासुकै बाटो बिग्रिएकाले यस खण्डमा सवारी सञ्चालन गर्नै धेरै मुस्किल रहेको छ। साँघुरो सडक, खाल्डाखुल्डीका कारण चालक, यात्रुले सास्ती भोग्नु परेको छ। त्यस्तै होलाङदीदेखि बर्तुङ र बर्तुङदेखि आर्यभन्ज्याङ भने संघीय सडक डिभिजनले हेर्दै आएको छ। प्रदेश गौरवको आयोजनाअन्तर्गत १९ किलोमिटर सडक बीचमा र ढुंगाखानीदेखि ७ किलोमिटर हार्थोकसम्म संघीय सडक डिभिजनले काम गर्दै आएको छ।
प्रदेश सरकारले आर्यभन्ज्याङदेखि वीरकोटसम्म र हार्थोकदेखि छहरासम्म विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्दै छ । सोही अनुसार बहुवर्षे ठेक्का व्यवस्थापनको तयारी भएको भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ। सोही क्षेत्रमा पनि काम अघि बढेको छैन। प्रदेश सरकारबाट विनियोजित पहिलो वर्ष २०७५ को बजेट रैनादेवी छहराको मेहलढापबाट अर्घाखाँचीको पणेना जोड्ने सडक चौडा गरेर सकिएको हो। सोही वर्ष जिल्लामा प्रदेश सरकारको प्रतिनिधित्व गर्ने कार्यालय पनि थिएन। सडक पूर्वाधार विकास कार्यालयका प्रमुखका अनुसार दोस्रो वर्षदेखि विनियोजित बजेट तानसेनको बाइपास होलाङदी–ढुंगाखानी सडक खण्डमा प्रयोग भएको छ।
३ दशमलव २ किलोमिटर सडक खण्डमा चालु आर्थिक वर्षमा काम सकिने जनाएको छ। सडक डिभिजनले १० वर्षअघि लगाएको ठेक्का निर्माण व्यवसायीले काम नगर्दा यो खण्ड अलपत्र परेको थियो। त्यही सडकमा प्रदेश सरकारको बजेट प्रयोग भएको प्रमुखले जनाए। हाल कामको ठेक्का लिएको निर्माण व्यवसायीले पनि समयमा काम नसकेको कारण पुनः ६ महिना समय थप भएको छ। सोही सडकअन्तर्गत पर्ने रिब्दीकोट गाउँपालिकाले ६ किलोमिटर सडक चौडा गरेको तीन वर्ष बित्यो तर कालोपत्र गर्न बजेट अभाव भएको छ। चौडा गरेको सडकमा खाल्डाखुल्डी बढेका छन्। कालोपत्रसमेत उप्किएर सवारी साधन गुडाउनै नसक्ने अवस्थामा पुगेको छ।
सडक कालोपत्रका लागि धेरैपटक प्रदेश सरकारलाई जानकारी गराएको भएपनि वास्ता गरेको छैन्। पाल्पाकै रैनादेवी छहरा गाउँपालिकाले पनि आफ्नै लगानीमा सडक चौडा गरेको छ। कालोपत्रका लागि बजेट छैन । प्रदेश गौरवको योजना भए पनि बजेटकै अभावले सडक अलपत्र भएको गाउँपालिका अध्यक्षले जानकारी गराएका छन्। प्रदेश सरकारले विनियोजन गर्ने बजेट अन्य जिल्लामा तानातान हुँदा पाल्पा क्षेत्रको सडक स्तरोन्नति हुन नसकेको हो ।