काठमाडौं। कमला नदीमा पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधान तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र रुग्ण आयोजनाका निर्माण व्यवसायीबीच भएको छलफलमा पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन पाउनासाथ काम थाल्ने बताएको हो।
छलफलमा हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत मोहनाखोला, डोकेबजार बेलौरी, धाइजी, कञ्चनपुर सडक मार्गको जिम्मा पाएको शर्मा/राजेन्द्र (संयुक्त)ले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ।
यसैगरी, धाँधरखोला पुल र पतरीखोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनभित्र कामलाई गति दिने नत्र ठेक्का तोडिने सहमति भएको छ। हुलाकी राजमार्गअन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माण जिम्मा पाएको कञ्चनजङ्घा/बिरुवा/शिवशक्ति (संयुक्त)ले २५ दिनमा काम सक्ने प्रतिबद्धता गरेको छ ।
सडक सुधार तथा विकास आयोजनाअन्तर्गत रुग्ण रहेका भेडेटार–राँके सडक निर्माण जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालू आर्थिक वर्ष २०७९/८० मा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ।