काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी योजनामा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध दायर गरेको छ। झुटा बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेर अनियमितता गरेको आरोपमा अख्तियारले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पर्यटन विकास प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकासा भएको रकममा हिनामिना भएको अख्तियारको भनाइ छ। अख्तियारले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, सबइन्जिनियर ललनकुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सबइन्जिनियर दीपेश महताराविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढा तथा खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
बाजुराको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुटा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको र निर्धारित सर्त तथा मापदण्डविपरीत भएको निर्माणलाई मापदण्डबमोजिम भएको हो भनी सिफारिस र कागजात स्वीकृत गरी १ लाख ५६ हजार ५५३ रुपैयाँ भुक्तानी दिइएको आरोपपत्रमा उल्लेख छ ।