काठमाडौं। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्नतिको काम बाँकी छ।
आयोजनाका प्रमुख जगत प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ प्याकेजको निर्माण सकिएको जानकारी दिए। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारमध्ये एउटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा रहेको उनले बताए। जोमसोम–कोरला खण्डअन्तर्गत तामाङ–गौरी पार्वती–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेकका प्याकेजको स्तरोन्नति सकिएको छ। ग्राभेल भइसकेको २५ किलोमिटर दूरीको जोमसोम–कागबेनी खण्डको सडक दोस्रो चरणमा कालोपत्र गर्ने तयारी भएको छ।
लगभग ६ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्ममा ५ अर्ब १३ करोड ४८ लाख खर्च भएको छ। चालू आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनालाई १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ। आयोजनाअन्तर्गत १९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटबाट बेगखोलासम्मको ६ किलोमिटर कालोपत्र शुरू भएको छ। शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६ दशमलव ५ किलोमिटर दूरीको कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा पुगेको छ।
सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न तीन हजार प्वाल खोलेर १० मेट्रिक टन जिलेटिन विष्फोट गराउने तयारी छ। बर्खाका कारण रोकिएको सडक निर्माणको काम दशैंलगत्तै अघि बढेको छ। १३ किलोमिटर दूरीको बेनी–मालढुंगा सडक विस्तारको काम पनि शुरू भएको छ। मालढुंगाबाट बेनी हुँदै जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमबाट कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित उक्त आयोजना राष्ट्रिय गौरवको हो।