पोखरा। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको ६ लेनको सडक निर्माणाधीन मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो। हाल मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि फेदी घट्टेखोलासम्म ६ लेनमा बनेको १२ किलोमिटर सडक रङरोगनसँगै आकर्षक देखिएको छ।
राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको हो। पहाडी जिल्लाहरुलाई जोड्दै नयाँ शहरको विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा मध्यपहाडी लोकमार्गको योजना अगाडि बढाइएको थियो। पाँचथरको चियोभञ्ज्याङ भन्ने ठाउँदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो हुने भनिएको छ।
पुरानै योजनाअनुसार सडक विभागले नियमित काम गरिरहेको लमजुङदेखि बागलुङसम्मको खण्ड हेर्ने डिभिजन इन्जिनियर नारायणदत्त भण्डारी जानकारी दिएका छन्। याम्दी–फेदी खण्डको १२ किलोमिटर सडक ६ लेनको भएपनि अन्य ठाउँमा डबल लेनको हुने भण्डारीले उनले जनाएका छन्। मध्यपहाडी लोकमार्गको लमजुङ–बागलुङ खण्ड २४० किलोमिटर सडकको ८० प्रतिशत काम सकिएको छ। कास्की खण्डको ३० किलोमिटर सडक विवादका कारण अहिलेसम्म ठेक्कामै गएको छैन। लमजुङ–बागलुङसम्म अझै ६० किलोमिटर पिच हुन बाँकी नै रहेको छ। तर याम्दी–फेदी सडक भने निर्माण नसकिँदै भाइरल बनेको छ।
सो सडकको अझै रङरोगनको साथै फुटपाथ मिलाउने, रेलिङको काम अझै बाँकी नै छ। लमजुङदेखि बागलुङसम्मको सडक खण्डको निर्माण शुरुवात २०७३ सालमा भए पनि याम्दी–फेदी सडकको निर्माण सम्झौता २०७४ मा भएको डिभिजन इन्जिनियर भण्डारीले जानकारी दिएका छन्। याम्दीदेखि ६ किलोमिटर शर्मा एण्ड कम्पनी र बाँकी ६ किलोमिटर स्वच्छन्द–इलाइट जोइन्ट भेन्चरले ठेक्का पाएको थियो।
साढे ८७ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनिले २०७७ चैत भित्रै सक्नुपर्ने भए पनि कोभिड र विद्युतका पोलहरु सार्नुपर्ने भएका कारण अबको चैतसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ। त्यस्तै कास्की खण्डको रुपा भगवतीटारदेखि याम्दीसम्म अझै रुट विवाद भएका कारण ठेक्का लाग्न सकेको छैन।