नवलपरासी। बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने पहाडको सडकमा खाल्डा खुल्डी भएको कारण हरेक दिन सवारीसाधन बिग्रिएर आवतजावत नै रोकिने गरेको छ। घन्टौ लगाएर बिग्रिएका सवारीसाधन व्यवस्थापन गरेपनि १४ कि.मि.को दुरी पार गर्न ५ देखि ८ घण्टासम्मको समय लाग्ने गरेको छ। बुटवलदेखि नारायणगढसम्मको १ सय १३ कि.मि. सडक विस्तारको काम चाइनाको एक कम्पनीले गरिरहेको छ।
सवारीसाधनको अत्याधिक चाप हुने उक्त सडकमा दर्जनौं स्थानमा खाल्डा खुल्डी परेको छ। उकालो सडक मर्मत भइरहेकाले क्षमताभन्दा बढी सामान बोकेर आएका मालबहाक ट्रक बीचमै बिग्रिने गरेका कारण सडक जाम हुने गरेको हो। भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न समय लाग्ने भएकाले जामको समस्या भएको प्रहरीले जनाएको छ।
सामान बोकेका सवारीसाधन बिग्रिएपछि व्यवस्थापनमा समस्या हुने र सडकमै मर्मत गर्नुपर्ने अवस्था छ। मर्मत नभएसम्म एकतर्फी सञ्चालन हुन्छ। हरेक दिन मालबहाक ट्रक बिग्रिने गरेका कारण महिनामा ५र७ दिनबाहेक अन्य दिन एकतर्फी मात्र सडक सञ्चालन हुने गरेको बर्दघाटका स्थानीयले बताएका छन्। क्षमताभन्दा बढी सामान बोकेर आएका सवारीसाधनलाई ट्राफिकले रोक नलागउँदा पनि यो समस्या आइपरेको स्थानीयको गुनासो रहेको छ।