मोरङ। दक्षिण कोरियाको चाङगाव विश्वविद्यालयका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ।
चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न बनेको चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो।
बुधाबार उक्त टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग छलफल र अन्तक्र्रिया समेत गरेको छ। छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका छन्।
कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरे। अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनीहरूले कोरियामा यसको धेरै माग रहेको समेत जानकारी गराए।