तेह्रथुम। तेह्रथुमको आठराई–६ चुहानडाँडामा भएको आगोलागीबाट १४ घर जलेर पूर्णरुपमा क्षति पुगेको छ। शुक्रबार भएको आगोलागीमा परी हात्तीखर्कमा भएका १४ वटै घर पूर्ण रुपमा जलेका हुन्।
हात्तीखर्कका १४ घरमध्ये ९ वटा घरमा मानिस बस्दै आएका थिए भने बाँकी ५ घर खाली थियो। अहिले ९ घरका ४१ जना आगोलागीबाट विस्थापित बनेका छन् भने आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि पाँचथरको सदरमुकाम फिदिम लगिएको छ।
आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् ।