काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ । सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको छ । त्यसबाहेक काठमाडौँ जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।
जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुङ्गो लागेपछि निर्माण अघि बढाइनेछ ।
सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ ।