काठमाडौं। सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ। तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको उक्त राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनवरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुखले जानकारी गराएका छन्।
सो सडकलाई रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो। विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड १२ किलोमिटर, नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड ४३ किलोमिटर र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड ४० किलोमिटरका रूपमा छुट्याइएको छ।
तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर रहेको छ। विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन्। हाल सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको छ।