रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौता गर्न थालेको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नागरिकको घर बनाउनका लागि नगरपालिकाले वडा वडामै गएर सम्झौता गर्न सुरु गरेको हो।
सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि छनौट भएका १४ नम्वर वडाका ४७ घरपरिवारमध्ये ४२ घरपरिवारसँग सम्झौता भएको छ। नगर कार्यपालिकाको कार्यालयबाट खटिएको टोलीले निरन्तर अन्य वडामा पुगेर सम्झौताको काम गर्ने बताइएको छ ।
वडा सिफारिस, फोटो प्रिन्ट, प्राविधिक लागत इस्टिमेट, सम्झौता, बैंक खाता सञ्चालन लगायतका सेवाहरू गाउँमै पुगेर एकै ठाउँबाट प्रदान गरिएको छ । टोलीले ४२ घरपरिवारसँग कार्यक्रम कार्यान्वयनको सम्झौता र ३६ जना लाभग्राहीको बैंक खाता समेत सञ्चालन गरेको छ ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले नगरपालिकाले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष २३० वटा घर खरका छानामुक्त बनाउन लागेको बताए। पानी चुहिने, हावाहुरी र आगलागीको जोखिममा रहेका नागरिकका घर छनौट गरेर टिनको छाना राख्न लागेको बताइएको छ । यस कार्यका लागि नगरपालिकाले एक घरलाई ५० हजार रुपियाँ सहयोग गर्ने समेत बताइएको छ ।