काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले पोखरामा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा झार्ने सरकारको योजना रहेको बताएका हुन् ।
मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए । उनले सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर पोखरा–काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने योजना रहेको बताए ।
सरकारले सडकको नक्शांकन गर्ने कार्यक्रम ल्याएको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय स्तरका सडक बनाउन कै लागि नक्शांकनको योजना आएको समेत जानकारी दिए । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको मातहतका सडकको नक्शांकन शुरु भएको हो । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने गरी कामलाई तीव्रता दिएको समेत जानकारी दिए ।