मकवानपुर। हेटौंडा बजार क्षेत्रमा छरपस्ट देखिएका तारलाई भूमिगत गरिने भएको छ। हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रको सौन्दर्यतालाई ध्यान दिँदै सुरक्षाका दृष्टिकोणले पनि छरपस्ट रुपमा रहेका तार व्यवस्थापन गर्ने निर्णय गरेको जनाएको छ।
उपमहानगरको २०औँ कार्यपालिका बैठकले हेटौँडाको मुख्य बजार क्षेत्र वडा नं. १, २, ४, १० र ५ को केही भागका पोल हुँदै लगेका तारलाई भूमिगत गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ। तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिका बैठकको निर्णयसँगै सिफारिस पत्र पठाइने भएको छ।
बैठकले हेटौँडा उपमहानगरलाई उज्यालो सहरका रूपमा स्थापित गर्न नगरका विभिन्न स्थानमा ‘हाई मास्ट लाइट’ राख्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका १९ वटै वडालाई लक्षित गर्दै लाइट व्यवस्थापनका लागि विद्युत् प्राधिकरणसँग छलफल भइरहेको छ।
नगरका सबै वडामा आवश्यकताअनुसार अधिक क्षमता भएको बत्ती राख्न स्थान र सङ्ख्याबारे अध्ययन भइरहेको समेत जनाइएकोछ। अधिक क्षमताको विद्युतीय बत्ती जडान गर्न विद्युत् प्राधिकरणसँग सामान्य सहमति बनिसकेको र सहमतिअनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने र ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ।