जुम्ला । जिल्लामा तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक १५ किलोमिटर निर्माण गरिएको छ । गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण गरिएको हो ।
सडक निर्माण भएपछि अहिले यो क्षेत्रसम्म सवारी साधन पुग्ने गरेको छ । गाडी पुग्न थालेपछि स्थानीयबासिन्दा खुशी भएका छन्।
स्थानीयले सबै घरधुरीमा खानेपानी, खेतीयोग्य जमिनमा सिँचाइ र सडक पुगेपछि सङ्घीयता आएको महसुस भएको बताएका छन् ।
जुम्ला सदरमुकामबाट जाने छोटो मार्गको रुपमा रहेको यो सडक एक करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिए । वडाध्यक्ष डाँगीले अब चार सय मिटर सडक खनिएमा सिञ्जा गाउँपालिका र दिलौरी काँध जोडिने बताए ।