काठमाडौं। म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु भएको छ। रघुगङ्गा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो। झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो।
सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो। योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो। कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिएका छन्। त्यस्तै उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना रहेको छ।
पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य रहेको छ। विसं २०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिएका छन्। त्यस्तै उक्त क्षेत्रमा ढुङ्गा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृश्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ। सो पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा अवस्थित टोड्केमा झिँ हुँदै दृश्यावलोकन गर्न जान सहज हुने, यात्रा अवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सुर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिएका छन्। धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत रहेको छ। त्यस्तै यस वर्ष पदमार्ग र उद्यानका अलावा झिँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति र टोड्केमा हाइअल्टीच्युड खेलमैदान निर्माण गर्न ठेक्का आह्वान भइसकेको प्रमुख प्रशासकीय अधिकृतले बताएका छन्।