काठमाडौं। जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी १५ किलोमिटर सडक निर्माण गरिएको छ। तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी लेक हुँदै सिंजाको वडा नम्बर ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण गरिएको हो।
तातोपानी पालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण गरिएको हो। सडक निर्माणपछि यो क्षेत्रमा एम्बुलेन्स र गाडी गुड्न थालेका छन्। गाडी पुग्न थालेपछि स्थानीयलाई सहज भएको छ। सिंजा गाउँपालिका भाडगाउँ, जोड, गोरागाउँबाट बिरामी बोकेर दिलौरी लेकमा ल्याउने र त्यसपछि थारमारे–दिलौरी सडक हुँदै एम्बुलेन्समा बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने गरेका छन्।
पालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार प्रदेश सांसद विकास कोषको ४५ लाख र तातोपानी गाउँपालिकाको १ करोड रुपैयाँ बजेटमा १५ किलोमिटर थारमारे–दिलौरी सडक निर्माण गरिएको हो। जुम्ला सदरमुकाम जाने छोटो मार्गको रूपमा १ करोड ४५ लाख रुपैयाँ लागतमा उक्त सडक निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिए। उनले भने, ‘अब ५ सय मिटर सडक खनिए सिंजाको दिलौरी–काधसम्म जोडिनेछ।’
सडकको प्रदेश सांसद तथा पूर्वमन्त्री नरेश भण्डारी, पालिका अध्यक्ष न्यौपाने, चन्दननाथ नगर उपप्रमुख अप्सरादेवी न्यौपाने, तातोपानी वडा नम्बर ५ का वडाध्यक्ष डाँगी र स्थानीयले अनुगमन गरे। अनुगमनका क्रममा थोरै लगानीमा धेरै काम भएको देखिएको पालिका अध्यक्ष न्यौपानेले बताए। अनुगमनको क्रममा सांसद भण्डारीले उपभोक्ताले गरेको काममा अहिलेसम्म सबैभन्दा राम्रो भएको प्रतिक्रिया दिए।