काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरीस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ ।
एक सय ३८ घरधुरीले प्रयोग गर्दै आएको पानी ट्याङ्कीको पानी खाँदा दुर्गन्ध आएपछि स्थानीयले च्याम्बर खोलेर हेरेका थिए । पानीमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको थियो । उक्त शव पोखरा ३३ की ४२ वर्षिया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
स्थानीय ऋषिनारायण कायस्थले ट्यांकी खोलेर हेर्दा शव भेटिएको बताए । ‘ सुरुमा घरमा पानीमा गन्ध आयो । मुसा मरेको जस्तो गन्ध आएको थियो । घरको जडान पाइपमा नै गन्ध आएको थियो । त्यसपछि के भएको रहेछ भनेर ट्याङ्की खोलेर हेर्दा कपडा जस्तो देखियो सुरुमा पछि पाइपले नियालेर हेर्दा खुट्टा देखियो त्यसपछि मान्छे रहेछ भनेर फोन गरियो ।’ उनका अनुसार पानि ट्यांकीको ढकनी झिक्न एक जनाले मात्रै नसक्ने दुई तिन जना चाहिने बताए । पाइन्ट र जुत्ता लगाएको अवस्थामा शव देखिएको उनले बताए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।