काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा जनशक्ति अभाव रहेको बताएकी छन्। मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको क्षेत्रमा पूर्वाधारको अभाव नभए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्ति अभाव रहेकाले अब जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी हुन्।
सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै उनले सरकारी निकायमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेको समेत जानकारी दिएकी छन्।
मन्त्री शर्माले भनिन्, ‘‘हामीसँग उपकरण भए पनि दक्ष जनशक्ति नहुनु ठूलो समस्या बनेको छ, सरकारी निकायमा सूचना प्रविधिका दक्ष जनशक्ति कसरी भित्र्याउने र भएको जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने चुनौतीको रूपमा देखिएको छ, यसमा हामीले प्राथमिकताका साथ गृहकार्य गर्नुपर्ने भएको छ ।’’
सूचना प्रविधि निरन्तर बदलिने रहने क्षेत्र भएकाले यसमा कार्यरत जनशक्तिलाई नियमित तालिम प्रशिक्षणमार्फत बदलिँदो प्रविधिसँग अपडेट गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन्।
भौतिक सुरक्षाजस्तै साइबर सुरक्षा पनि अनिवार्य पक्ष बन्न गएकाले सरकारले साइबर सुरक्षा कार्यक्रम सबै निकायमा लागू गरेर लैजाने सोच रहेको पनि उनले जानकारी दिएकी छन्।