काठमाडौं। जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ। भौगोलिक रुपमा विकट जुम्लाका ग्रामिण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमि सडक निर्माण भएको हो।
जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने ‘थारमारे–दिलौरी’ १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी लेक हुँदै सिंजा गाउँपालिकाको वडा नम्बर ६ भाडगाउँ हुँदै सिंजा क्षेत्र जोड्ने १५ किलोमिटर सडक निर्माण तातोपानी गाउँपालिका वडा नं ५ अध्यक्ष हरिबहादुर डाँगीले बताए । उनका अनुसार तातोपानी पालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण भएको हो।
सडक निर्माणपछि यो क्षेत्रमा एम्बुलेन्स र गाडी गुड्न थालेका छन्। गाडी पुग्न थालेपछि सिंजा र तातोपानीका स्थानीयलाई सहज भएको छ। सडकले सिंजा गाउँपालिका दुर्गम गाउँ भाडगाउँ, जोडु, गोरागाउँलगायत अन्यगाउँका नागरिकलाई राहत भएको छ। सिंजाका बिरामी बोकेर दिलौरी लेकमा ल्याउने र त्यसपछि थारमारे–दिलौरी सडक हुँदै एम्बुलेन्समा बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने गरेका छन्।
सांसद विकास कोषकरोड रुपैयाँ लागतमा १५ किलोमिटर थारमारे–दिलौरी सडक निर्माण गरिएको पालिका अध्यक्ष नवराज न्यौपानेले बताए। सिंजाका नागरिकलाई जुम्ला सदरमुकाम आउन थारमारे दिलौरी सडक सबैभन्दा छोटो मार्ग पनि हुने अध्यक्ष न्यौपानेको भनाइ छ। गत साता उक्त सडकको प्रदेश सांसद तथा पूर्वमन्त्री नरेश भण्डारी, पालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगर उपप्रमुख अप्सरादेवी न्यौपाने, तातोपानी वडा नम्बर ५ का वडाध्यक्ष डाँगी र स्थानीयले अनुगमन समेत गरेका छन्।
अनुगमनका क्रममा पुर्वमन्त्री नरेश भण्डारीले थोरै लगानी कम समयमा सडक निर्माणका काम चित्त बुझ्दो भएको बताए। उपभोक्ताले गरेको काम प्रशंसनि छ। बाँकी ५ सय मिटर सडक निर्माणका लागि थप बजेट व्यवस्थापन गर्न पहल गरिने भण्डारीको भनाइ छ।