फाइल तस्बिर
ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र मेची राजमार्गका अवैध संरचना भत्काउन सुरु गरिएको छ। फुङ्लिङ नगरपालिकाले मंगलबारदेखि बजार क्षेत्रको मेची राजमार्गको सडक क्षेत्रभित्र बनाइएका अवैध संरचना भत्काउन थालेको हो।
मंगलबार फुङ्लिङ बजारको छेउ सशस्त्र चेकपोइन्ट हुँदै मुख्यबजार प्रवेशद्वार हेलिप्याड क्षेत्र, रिजाललाइन, तोक्मेडाँडा बसपार्क लाइन, शान्तिटोल, न्यूरोड, पूरानो बैङ्क लाइन, पराजुलीचौक, बुद्धचौक लगायतका क्षेत्रमा सडक सीमाभित्र निर्माण गरिएका अवैध घरटहरा भत्काइएका छन्।
नगरपालिकाले सडक क्षेत्राधिकारभित्र निर्माण भएका घर–टहरा लगायतका संरचना हटाउन सोमबारसम्मको समय दिएको थियो। दिएको म्याद सकिएसँगै नगरपालिकाले संरचनाहरु भत्काउन सुरु गरेको हो। सडक क्षेत्राधिकारभित्र पर्ने दाँया–बाँया दुवैतिरका संरचना नगरपालिका आफैँले डोजर प्रयोग गरेर हटाउन थालेको छ। नेपाल प्रहरीसहित सुरक्षाकर्मीको सहयोग लिएर नगरपालिकाले मेची राजमार्ग मापदण्डअनुसार सडक खाली गराउन अवैध संरचनाहरु भत्काउन सुरु गरेको जनाएको छ।