पाल्पा। पाल्पा जिल्लाको पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । तानसेन नगरपालिकाले बुधबार बिहानदेखि ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरामा डोजर लगाउन थालेको हो।
सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटकीयस्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो। दरबारको सुन्दरता कायम गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा बनेका घरटहरा नगरपालिकाले डोजर लगाएर हटाउन थालेको छ।
तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घरटहरा तथा पसल भत्काउन सुरु गरेको छ । शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागेको तानसेन नगरपालिकाले जनाएको छ। अव्यवस्थित संरचना हटाउन दुईवटा डोजर परिचालन गरेर काम सुरु गरेको नगरपालिकाले जनाएको छ।