झापा। झापाको विर्तामोड नगरपालिकाले बहुतले आधुनिक व्यापारिक भवन बनाउने भएको छ। नगरपालिकाले वडा नं ५ स्थित बुधबारे हटियामा व्यापारिक भवन बनाउन त्यहाँका घर टहरा भत्काउने भएको हो।
देवीहाटका नामले परिचित २१ कट्ठा क्षेत्रफलको सो स्थानमा विसं २०७२ यता निर्मित ७२ अस्थायी संरचनामा साना व्यवसाय सञ्चालन भइरहेको छ भने जग्गा अतिक्रमण गरेर थप एक सय टहरा बनेको पाइएको नगरपालिकाले जनाएको छ।
पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा उदीयमान विर्तामोडको केन्द्रभागमा रहेको सो स्थानमा सुविधासम्पन्न व्यापारिक भवनको खाँचो भएको भन्दै नगरपालिकाले भवन बनाउन लागेको हो।
नगरपालिकाले यही वैशाख ४ गते तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको छ ।