धादिङ। सामुदायिक बन क्षेत्रमा निर्माणाधीन पार्कको काम रोकिएको छ। पार्क निर्माणको बहानामा वन क्षेत्र अतिक्रमण गरी प्रतिबन्ध गरिएको स्थायी संरचना निर्माणको काम आइतबारदेखि रोकिएको हो।
नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको जग्गाको छेउमा रहेको कमेरे सामुदायिक बन क्षेत्रमा पार्क निर्माण सुरु भएपछि विवाद उत्पन्न भएको थियो।
सामुदायिक बन क्षेत्रमा पार्क निर्माण गरिँदा उपभोक्ता समितिसँग समन्वय गर्नु पर्ने, बन कार्य योजना बनाएर स्वीकृत गराएपछि मात्र अस्थाइ संरचना निर्माण गर्नुपर्नेमा स्थानीयबासी, सामुदायिक बनका उपभोक्तालाई समेत जानकारी नदिई स्थायी संरचना बन्न सुरु गरेको थियो।
सामुदायिक बन क्षेत्रभित्र पर्ने स्थानमा बोटबिरुवा मासेर डोजर लगाएपछि सो क्षेत्रका नागरिकहरु आन्दोलिन नै भएका हुन्।
स्थानीयको विवाद, सामुदायिक बनमा स्वीकृति नलिइ अवैध रुपमा संरचना निर्माण भएको जानकारी आएकोले हाललाई योजना निर्माण कार्य रोक्न बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले पत्रनै पठाएपछि काम रोकिएको हो। वैशाख ७ गते पत्र लेखिएको भएपनि काम नरोकिएपछि आइतबार बन डिभिजन कार्यालय धादिङको टोलीले निर्माणस्तलमै पुगेर आयोजनाको कोम रोकेको छ।