दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले सोही पुलको बीचमा पर्खाल लगाएका छन्। दुई वर्षअघि पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका हुन्।
गाउँपालिकाको दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ। पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको बताइएको छ ।
पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत निर्माण कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए। पटक–पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरुको भनाइ छ ।
झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको छ।