बागलुङ। बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेकसम्म पुग्न पदमार्ग निर्माण गरेसँगै आन्तरिक पर्यटक बढ्न थालेका छन्। स्थानीय घाँस–दाउरा गर्न मात्र पुग्ने गरेको कौडे लेकको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन्।
सिग्दी गाउँको शिरमा प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक दुई हजार छ सय मिटरको उचाइमा छ । गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेसँगै पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज भएको छ। सूर्योदय र अनेकौँ दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।
बागलुङ र गुल्मी जिल्लाको सङ्गमस्थलसमेत रहेको कौडेलाई प्रवर्द्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत बनाइदिएको छ ।