हुम्ला । दुर्गम जिल्लाका अधिकांश गाउँबस्तीमा मानिस बिरामी पर्दा स्टेचरकै भरमा ओसार्नुगर्ने बाध्यता छ । ती गाउँमा हालसम्म सडक सञ्जाल जोडिन नसक्दा बिरामीलाई स्टेचर र मानिसले बोक्नुपर्ने बाध्यता आइलागेको हो ।
हुम्लाको सर्केगार्ड गाउँपालिका–३ को उनपानी गाउँका स्थानीय जयबहादुर महताराले गाउँमा मानिस बिरामी पर्दा डेढ घण्टा पैदल स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लिनुपर्ने अवस्था रहेको बताए। उनले गाउँमा स्टेचर पनि बढी नहुने भएको कारण धेरै जना एकसाथ बिरामी हुँदा मानिस मिलेर बिरामी बोक्नुपर्ने बाध्यता समेत रहेको बताए।
उनले सो गाउँमा सडक निर्माण भएको भए पनि लोती कर्णालीमा पुल नबन्नु र गाउँपालिका भरि एम्बुलेन्स नभएको कारण बिरामीलाई स्टेचरमा बोक्नुको अन्य बिकल्प नभएको गुनासो गरे।
यो समस्या यी दुई गाउँपालिकाको मात्र नभएर जिल्लाका सात वटै गाउँपालिकामा उस्तै छ । स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले सडक सञ्जाल नजोडिएको कारण गाउँबाट बिरामी ल्याउन स्टेचर भरपर्दो साधन भएको बताइन् । उनले यसरी बिरामी बोक्ने कार्य गाउँमा मात्र नभएर जिल्ला अस्पतालमा समेत गाउँबाट बिरामी बोकेर ल्याउने कार्य भइरहेको जानकारी दिइन्।