सोलखुम्बु। सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर पानी व्यवस्थापन परियोजना शिलान्यास गरिएको छ। भारतीय राजदूत तथा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले शनिबार खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना शिलान्यास गरेका हुन्।
यस परियोजना भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको हो।
‘यस परियोजनाले सोलुखुम्बु जिल्लाका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन भारतीय अनुदान सहयोगअन्तर्गत प्रदान गरिएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ भारतीय दूतावासको भनाइ छ ।
खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२०० भन्दा बढी घरलाई बिजुली उपलब्ध गराउन सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत् परियोजनाको स्तरोन्नति गरिएको थियो । यस बाहेक सन् २०२२ मार्चमा खुम्जुङ, खुन्दे र नाम्चे बजारका मानिसहरु लाभान्वित हुने गरी खुम्जुङ खुन्दे खानेपानी परियोजनाको कार्यान्वयनमार्फत खानेपानी सेवाको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।