काठमाडौं । नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य २३ प्रतिशत सकिएको छ । चाडपर्व सकिएसँगै तीव्र गतिमा शुरु गरिएको निर्माण कार्य हालसम्म २३ प्रतिशत पूरा भएको हो ।
नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी शुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।
गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिन थालेको छ ।
पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ । गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो । निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको छ ।