नुवाकोट। तीन स्थानीय तहले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।नुवाकोटका ककनी गाउँपालिका‚ बेलकोटगढी नगरपालिका र धादिङको धुनीबेंशी नगरपालिकाले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन नभए कडा कदम चल्ने चेतावनी दिएका हुन्।
यी स्थानीय तहले प्रभावित क्षेत्रमा संयुक्त पत्रकार सम्मेलन गरी तीन बुँदे मागसहित फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन्।
वैज्ञानिक ढंगबाट फोहोरमैलाको व्यवस्थापन, प्रभावित स्थानीयहरूको उचित व्यवस्थापन, आवश्यकताको आधारमा मानव बस्तीको समेत व्यवस्थापन र यसअघिका सम्झौताहरूको पूर्णरुपमा कार्यान्वयन गर्न तीनै स्थानीय तहका अध्यक्ष तथा प्रमुखहरूले माग गरेका छन् ।
यसअघि १५ दिने अल्टिमेटम सकिएलगत्तै उनीहरूले उक्त माग सार्वजनिक गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘फोहोर व्यवस्थापनका लागि फोहोर संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गरिनुपर्नेमा फोहोरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाउनाले यस वरिपरिको क्षेत्र दुर्गन्धित हुनुका साथै स्थानीय बसोबास गर्नका लागि समेत अयोग्य बनेको छ ।’
प्रभावित क्षेत्रमा वातावरण दूषित हुनुका साथै कृषियोग्य जमिनमा समेत खेती हुन छाडेको, चिल र गिद्धले फोहोर एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न रोगको सिकार बनाएको बताएका छन् । प्रभावित क्षेत्रका बसिन्दामाथि खेलबाड भइरहेकाले जनप्रतिनिधिहरू टुलुटुलु हेरेर बस्ने अवस्था नरहेको तीनै पालिकाका प्रमुखहरूले बताए ।