कास्की। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी सरकारको आइतबार बसेको बैठकले देवकोटालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त उपाध्यक्ष देवकोटाले संविधानले दिएको म्यान्डेटअनुसार सीमाभित्र रहेर प्रदेश र संघीयतालाई बलियो बनाउने काममा लाग्ने बताए । साथै प्रदेशमा पर्यटन, दिगो कृषि र जलस्रोतको उपयोगलाई कसरी बढाउने भन्ने विषयमा बढी केन्द्रित हुने उनको भनाइ छ ।
गोरखाको पालुङटार नगरपालिका ३ लिगलिगकोट स्थायी घर भएका देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गरेका छन् । उनी विपद् व्यवस्थापन, विकास योजना र विभिन्न अनुसन्धानमा क्रियाशील रहँदै आएका थिए ।