डोटी। डोटीको आदर्श गाउँपालिकाले जलाधार तथा पर्यावरण संरक्षण अभियान सुरु गरेको छ। पानीको स्रोत सुकेर हाहाकार हुन थालेपछि जलाधार संरक्षण अभियानको थालनि गरिएको हो।
गाउँपालिकामा हाल ५ हजार २३८ घरधुरीमध्ये ४ हजार २९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएका छन् । तर, त्यसमध्ये ५० प्रतिशत खानेपानीका धारामा पानी आउन छाडिसकेको गाउँपालिले जनाएको छ। पालिका अध्यक्ष गणेशबहादुर खड्काले निर्वाचनमा खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएर जनता कहाँ गएको तर अहिले पानीको स्रोत नै सुक्न थालेपछि जलाधार संरक्षण अभियानमा लागेको बताए।
यस अभियानअर्न्तगत सुकिसकेका पानीका स्रोतहरूलाई पुरानै अवस्थामा फर्काउन पालिकाले रणनीतिक योजना तयार गरिरहेको छ।